
भारतको ओडिसाको बालासोर जिल्लानजिकै कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । घाइते हुनेहरु ९०० भन्दा बढी रहेको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको जनाएका छन् । साथै दुर्घटनामा घाइते हुनेहरुको संख्या करिब ९०० पुगेको छ ।
शुक्रबार यशवन्तपुर-हावडा सुपरफास्ट मालवाहक रेलसँग ठोक्किएपछि कोरोमण्डल एक्सप्रेस लिकबाट बाहिर गएको हो । शुक्रबार साँझ झन्डै साढे ७ बजे भएको दुर्घटनालगत्तै २०० वटा एम्बुलेन्स परिचालन गरिएको बालासोर जिल्लास्थित ओडिसाका मुख्य सचिव प्रदीप जिनाले जनाएका छन् ।
दुर्घटनाको खबर पाएलगत्तै भारतीय रेलमन्त्री अश्विनी वैष्णव स्वयं दुर्घटनास्थल पुगेका थिए । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । यस्तै सख्त घाइतेहरुलाई दुई लाख रुपैयाँ र सामान्य घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिनेसमेत मन्त्री वैष्णवले घोषणा गरेका छन् ।
रेल दुर्घटनापछि टीएमसीका नेता अभिषेक बनर्जीले रेलमन्त्री वैष्णवको राजीनामा माग गरेका छन् । रेलमन्त्री वैष्णवसँग ‘दुर्घटनापछि तपाईंको चौतर्फी राजीनामाको माग गरिएको छ, यसबारे के भन्नुहुन्छ ?’ भन्ने प्रश्न भइरहेको छ । यही प्रश्न अर्थात् राजीनामाको माग आएपछि रेलमन्त्री वैष्णवले भनेका छन्, ‘सबैभन्दा पहिलो ध्यान दुर्घटनामा परेकाहरुको ज्यान बचाउनतिर लागौं ।’
उनले दुर्घटना भएको क्षेत्र खाली गराएर चाँडोभन्दा चाँडो मर्मतको काम सुरु गर्ने पनि जनाएका छन् ।
रेल दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेताहरुले दु:ख जनाएका छन् । मोदीले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् । ‘ओडिसामा भएको रेल दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु । यो दु:खको घडीमा मेरो समवेदना परिवारको साथ छ । दुर्घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु,’ उनले भनेका छन्, ‘मैले रेलमन्त्रीसँग कुरा गरिरहेको छु । त्यहाँको अवस्थाको बारेमा पनि जानकारी लिएको छु । उद्धारकार्य जारी छ । दुर्घटनाबाट प्रभावितहरुको हरसम्भव सहयोग गर्छौं ।’
घाइतेहरुलाई गोपालपुरका अस्पताल तथा बालासोरको मेडिकल कलेजलगायत विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको ओडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै बीबीसीमा समाचार छ ।
दुर्घटनामा परेकाहरुको उद्धार कार्य अझै जारी छ ।
-बीबीसी
