
नक्कली भुटानी शरणार्थी मुद्दामा भोलि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको छ ।
पक्राउ परेका १८ जनाको बयान हिजो सकिएपछि भोलि थुनछेक बहस सुरु हुने भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने/नपठाउने टुंगो लाग्नेछ ।
हिजो पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भएको थियो । ३० जना प्रतिवादी बनाएर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका अधिकांशले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् । तर पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यादलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरु समेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राईविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ । नेपालमा पहिलो पटक गृहमन्त्रालको राजनीतिक र प्रशासनिक नेतृत्वविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलेको हो । पक्राउ परेका आरोपीलाई अदालतले थुनामा पठाउँछ वा पठाउँदैन भन्ने सर्वत्र चासो छ ।