११ बैशाख २०८२, बिहीबार

प्रचण्डविरुद्ध लाग्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं : पूर्व लडाकु नेता

maxresdefault e1686546460954

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसि‌ंह प्रजाले लडाकु शिविरमा भात पकाउने लेनिन विष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम बेच्दै डलर कमाउने धन्दामा लागेको आरोप लगाएका छन् ।

‘नेपालमा गणतन्त्र ल्याउनका लागि कुनै पनि बालबालिका वा वृद्धवृद्धाको प्रयोग भएको छैन । लेनिन विष्ट भन्ने मान्छे जनयुद्धमा लागेकै थिएन । ऊ त २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा भात पकाउन गएको मान्छे हो । तर आज जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै प्रचण्ड नाम बेच्दै कहिले हेग त कहिले कहाँ पुर् याउँछु भन्दै डलर कमाउने धन्दामा लागेको छ । ऊ डलरवादीले परिचालन गरेको मान्छे हो । उसले बन्दुक समेत देखेको छैन । बन्दुक कसरी पड्किन्छ भन्ने पनि थाहा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

पूर्व लडाकु नेता प्रजाले लेनिन विष्टलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा हाले आफूहरुले नछोड्ने चेतावनी पनि दिए । उनले भने, ‘देशको प्रधानमन्त्रीलाई बारम्बार मुद्दा हाल्ने लेनिन विष्ट को हो ? उसकै व्यवहारका कारण अनमिनले तँ सेना बन्न लायक छैनस्, बालसेना होस् भनेर बिदा गरेर पठाएको हो । तर उसले यसरी नै बारम्बार पैसा कमाएर गाडी चढेको छ, घर बनाएको छ, हुँदै नभएको बालसैन्य भन्दै सडकमा चिच्च्याइरहेको छ । हामी त्यसको खबरदारी गरिरहेका छौं । हामी कुनै दिन उसलाई कारबाही गर्न बाध्य हुनेछौं ।’

पूर्व लडाकु नेता प्रजाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई पनि छाडेनन् । ‘त्यो ज्ञानेन्द्र शाही भन्ने उल्लुको पट्ठा संसदमा चिच्याइरहेको छ । जुम्लाको त्यो भेडी गोठालोलाई काठमाडौंमा घर, गाडी कहाँबाट आयो ? हामी त्यसको हिसाबकिताब गर्न बाध्य हुनेछौं । संसदमा यस्तै बकम्फुसे कुरा गर्ने हो भने हामी पनि आतंक मच्चाउन बाध्य हुनेछौं । त्यो पागल, चोर फटाहाले भन्दैमा प्रचण्डले प्रधानमन्त्रीबाट किन राजीनामा दिने ?’ उनले भने ।

शान्तिप्रक्रिया भाँडिए ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई नछाड्ने दाबी पनि प्रजाले गरे । उनले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ प्रचण्डकै त्यागका कारण राजनीतिमा आउन सकेको पनि बताए ।

    सम्बन्धित समाचार...