
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
आज (सोमबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् । भेटमा उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले समेत सहभागी थिइन् ।
गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् । भेटवार्तामा नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको सहमतिलाई स्मरण गराएको छ । पूर्व सहमतिबाट सरकार पछाडि हट्न नमिल्ने उनीहरुको माग छ ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा सुदूरपश्चिम प्रदेशको पुनः नामाङ्कन हुनुपर्ने विषयले समेत प्रवेश पाएको छ । भेटमा प्रधानमन्त्रीले पहिचानसहितको प्रदेश नामाङ्कनमा विचार गर्न सकिने वचन दिएको बताइएको छ ।
साथै, नाउपाले मुलुकभर देखा परिरहेको किसानको समस्यालाई बेलैमा सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ गते नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले नाउपालाई १ मन्त्रालय दिएर मन्त्री मण्डललाई पूर्णता दिन खोजेका थिए ।