
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि सांसदहरुको टिप्पणीले आफु उत्साहित भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बजेटमाथि सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै महतले विपक्षी दलको नेता केपी शर्मा आलीले बजेटमाथि २ घण्टा लगाएर टिप्पणी गरेपछि आफु झनै उत्साहित भएको बताए ।
‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन्। यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ। होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेकोछ।’अर्थमन्त्री महतले भने ।
बजेट प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ
अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बजेटमाथि प्रतिनिधिसभाका सांसदहरुले जवाफ दिँदै उनले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित अघि बढ्ने जनाए । उनले बजेट स्वदेशमै रोजगारी सिर्जना गर्न केन्द्रित रहेको दाबी गरे ।
आवश्यकता, महत्त्वकांक्षा र माग धेरै भए पनि स्रोत सीमित रहेको अर्थमन्त्री महतको भनाइ छ । उनले महत्त्वपूर्ण आयोजनामा खर्च कटौती नगरी अन्यत्र बजेट छरिएको स्वीकार गरे ।
मन्त्री महतले दाताहरु सहयोग गर्न तयार रहेको तर खर्च गर्ने क्षमता बढाउनुपर्ने अवस्था रहेको सांसदहरुलाई जानकारी दिए ।