
सत्तारुढ दलका शीर्ष नेताहरुबीच आगामी आर्थिक वर्षको बजेट पुनर्विचार गर्ने सहमति भए पनि मन्त्रिपरिषद बैठकले भने यसबारे कुनै निर्णय गर्न सकेन । बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकमा बजेट पुनर्विचारबारे छलफल भए पनि ठोस निर्णय हुन सकेन । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गठबन्धनभित्रै बजेटमा असहमति भएकाले अर्को दिन छुटै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा बजेट पुनर्विचार गर्ने सहमति भएको थियो ।
विशेषगरी नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति असहमति जनाएको छ । आजकै बैठकले जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रमका लागि युरोपेली युनियनले दिने ३ अर्ब १२ करोड र स्वास्थ्य क्षेत्रमा कोरिया सरकारले दिने १ अर्ब २५ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ ।