
अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा मायामीस्थित अदालतमा हाजिर हुन फ्लोरिडा पुगेका छन् ।
ट्रम्प सोमवार न्यूजर्सीस्थित गल्फ कल्बबाट निजी विमानमार्फत मायामी सहर नजिकैको आफ्नो रिजोर्ट-ट्रम्प डोरल रिजोर्टमा पुगेका हुन् । ट्रम्प स्थानीय समयअनुसार मंगलबार दिउँसो तीन बजे अदालतमा हाजिर हुने जनाइएको छ । अमेरिकाको समय नेपाली समयभन्दा पौने दश घण्टा पछाडि छ ।
अवकाश पाइसकेपछि पनि सरकारी गोप्य कागजात अवैधानिक रुपमा आफूसँग राखेको विषयमा ट्रम्पमाथि एक दर्जनजति आरोप लगाइएको जनाइएको छ । ट्रम्पको निजी निवासमा फेला परेका गोप्य दस्तावेजमा केही दस्तावेज परमाणु गोपनियतासम्बन्धी पनि रहेको जनाइएकोछ ।
ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाइएको यो दोस्रो पटक हो भने कुनै पूर्वराष्ट्रपति विरुद्ध संघीय सरकारले चलाएको यो पहिलो मुद्दा हो ।
ट्रम्पमाथि मुद्दा चलाइएको विरोधमा उनका समर्थकहरुले प्रदर्शन गर्न सक्ने अनुमानमा मायामीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
मायामीका प्रहरी प्रमुख म्यानी मोरेल्स्ले ५० हजार जति मानिसले प्रदर्शन गर्न सक्ने अनुमानका साथ त्यसको व्यवस्थापनको योजना बनाइएको बताएका छन् । उनले आवश्यक परे सहरको मुख्य क्षेत्रसम्म जाने सडक बन्द गरिने जानकारी दिएका छन् ।
ट्रम्पमाथि लगाइएका आरोपहरुमा गुप्तचरी कानूनको उल्लंघन तथा न्याय प्रक्रियामा अवरोध पुर्याएको आरोपसमेत रहेको र दोषी ठहरिए उनलाई अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ ।
ट्रम्पका समर्थकहरुको ठूलो संख्याले उनी विरुद्ध यो मुद्दा राजनीतिले अभिप्रेरित रहेको विश्वास व्यक्त गरेको रोयटर्स र इप्ससले गरेको सर्वेक्षणले देखाएकोछ । ट्रम्प भोलि बुधवार ७७ वर्षका हुँदैछन् ।