
कोशी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मंगलबार राति काठमाडौं उपत्यकासहित देशका पूर्वी पहाडी तथा तराईमा वर्षा भएको छ । वर्षासँगै अत्यधिक गर्मीबाट राहत महसुस गरिएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मधेस प्रदेशलगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि (बिहीबार) आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
महाशाखाकाअनुसार शुक्रबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू-भागका थौरै स्थानमा वर्षाको सम्भावना छ ।
कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षाको सम्भावना रहेपनि पश्चिम तराई र पहाडी भू-भागमा भने वर्षाको सम्भावना छैन । जसका कारण देशका मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी यथावत रहने महाशाखाले जनाएको छ ।
महाशाखाले नेपालमा आज वा भोलिसम्ममा मनसुन भित्रने पूर्वानुमान गरेको छ । यसवर्ष औसत समयभन्दा एक-दुई दिन ढिला मनसुन भित्रने भएको हो । मनसुन भित्रने औसत समय जुन १३ हो ।