११ बैशाख २०८२, बिहीबार

उच्च अदालत जाने तयारीमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरु

nakali sara

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध अभियुक्तहरुले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

पक्राउ परेका १८ मध्ये १६ जनालाई हिजो जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभियुक्तहरुले आदेश त्रुटिपूर्ण रहेको भन्दै पुनरावेदनमा जाने तयारी गरेका हुन् ।

अभियुक्त बालकृष्ण खाणका कानुन व्यवसायी खम्मबहादुर खातीले आवश्यक परामर्शपछि उच्च अदालत पाटनमा पुनरावेदन गरिने बताए । पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललगायत छन् ।

अभियुक्तहरु लक्ष्मी महर्जन र टंककुमार गुरुङ भने धरौटीमा रिहा भएका छन् । अभियुक्तविरुद्ध ठगी, संगठित अपराध, सरकारी कागजको किर्ते र राज्यविरुद्धको आरोप लगाइएको छ ।

जिल्ला अदालतको आदेशअनुसार न्यायिक हिरासतमा पुगेका वा धरौटीमा छुटेकाहरुले आदेश चित्त नबुझे उच्च अदालतमा पुनरावेदन गर्न सक्ने कानुन व्यवसायी बताउँछन् ।

यसैबीच नक्कली शरणार्थी प्रकरणमा फरार १२ जनालाई पक्राउ पूर्जी जारी गरी नियमानुसार गर्न जिल्ला अदालतले आदेश दिएसँगै प्रहरीले खोजी तीव्र पारेको छ । यो प्रकरणमा अहिलेसम्म संलग्न देखिएका ३० जनामध्ये फरार केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपान्जली हुमागाईं, निरज राई, प्रतीक थापा, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरन्जनकुमार खरेल र सुनील बुढाथोकीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार अभियुक्तको सम्पत्ति विवरण, बैंक र सेयर खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । यो प्रकरणमा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    सम्बन्धित समाचार...