
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंकले बढेको छ ।
गत जेठ २२ गते १९०१.९९ विन्दुमा रहेको नेप्से आइतबार २०९४.३३ अंकमा पुगेको हो । नौ दिन यता हरियाली देखिएको नेप्से पछिल्लो ९ दिनमा १९१ अंकले बढेको हो । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ७.१८ अंकले उकालो लागेर ३९०.५६ अंकमा चढेको छ ।
आज (आइतबार) २८० कम्पनीका एक करोड २० लाख ९५ हजार ९ सय ६६ कित्ता सेयर किनबेच भए । जसअनुसार चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आइतबार बैंकिङ समूह ३.५५ अंकले घटेको छ । अरु सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचकमा ६९४.१४ र निर्जीवन बिमा समूहको उपसूचक ५००.३० अंकले बढेको छ ।
विकास बैंक ५०.१२, वित्त ३५.७७, होटेल तथा पर्यटन २९४.४०, जलविद्युत् १०२.०१, लगानी १.०४ र उत्पादन तथा प्रशोधन समूह १४२.०१ अंकले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक १०३.५२, म्युचुअल फन्ड ०.१२, व्यापार ८७.०८ र अन्य समूह ८६.३० अंकले बढेको छ ।
बैंकिङ समूह ३.५५ अंकले घट्दा अरु सबै समूहका उपसूचक बढे
आजको कारोबारमा २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सेयर बजारमा बिमा कम्पनी र होटेल उपसमूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेन्चर कम्पनी, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट अर्थात् १० प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर छ । यसको सेयर मूल्य ५.५८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको ३६ करोड ६४ लाख ९९ हजार १५८ रुपैयाँबराबरको ६ लाख ४९ हजार ६ सय पाँच कित्ता सेयर किनबेच भए ।