
बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुगेका छन् ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्धार, राहतसँगै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिए । यसका साथै अन्य स्वयंसेवी संघसंस्थामा अपिल पनि गरे ।
प्रभावित क्षेत्रमा तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउन सरकारले तदारुकताका साथ काम गर्ने पनि प्रधानमन्त्री दाहालले आश्वासन दिए ।
प्रधानमन्त्री दाहाल आजै ताप्लेजुङ र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गरी अपराह्न काठमाडौं फर्कनेछन् ।