११ बैशाख २०८२, बिहीबार

आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश नेपाल भन्नुपर्ने अवस्था छ : उपेन्द्र यादव

355401704 279202304513934 7264413059593597438 n.jpg

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो भन्दा नेपाल भन्नुपर्ने दुःखद् स्थिति भएको बताएका छन्।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै संसद्ले दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक रोक्नुपर्ने कुनै कारण नरहेको तर पुरानो माइन्ड सेटले काम गरेको उनले बताएका हुन्।

‘आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो भनेर हाजिरी जवाफ प्रतियोगितामा सोधियो भने नेपाल भनेर भन्नुपर्ने अवस्था छ, दुई दुईपटक संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गर्दा टाउको नदुख्नुपर्ने हो, तर पुरानो माइन्ड सेटले काम गरेको छ,’ उनले टिप्पणी गरे।

उनले राजनीतिक संघर्षबाट अझै उपलब्धी हासिल गर्नुपर्ने भएकाले मोर्चाको आवश्यकता रहेको बताए।

‘संघर्षद्वारा उपलब्धी हासिल गर्न बाँकी छ। कृषि, पर्यटन उद्योग, आर्थिक सम्भाव्यताको क्षेत्रको विकास गर्नुपर्ने छ। नागरिकहरूलाई आर्थिक, सामाजिक सुरक्षाको प्रत्याभूति गराउनु छ,’ उनले भने।

उनले भने – ‘केही शक्ति छन्, जो धेरै अगाडि आइसकियो, घिसारेर कहाँ लैजाने भन्ने मान्यताबाट अगाडि छन्। प्रगतिशील, क्रान्तिकारी तथा परिवर्तनलाई अगाडि बढाउन सक्ने मोर्चाको निर्माण गर्नुपर्ने छ। राजनीतिक रूपले धेरै काम गर्न बाँकी छ। विगतका कमीकमजोरी हटाउनु छ,’ उनले भने, ‘संविधानका कमजोरी, विसंगतिहरूलाई परिमार्जन संशोधन गर्ने समझदारी गरेर सबैले अपनत्व लिनसक्ने अवस्था बनाउनु छ।’

उनले मधेसी, आदिवासी जनजाति, दलित महिला, मुस्लिम, पिछडिएका वर्गको पहिचान, भाषा संस्कृतिको विकास राजनीतिक, प्रशासनिक पहुँच, प्रतिनिधित्व र भागिदारीलाई ग्यारेन्टी गुर्न पर्ने बताए ।

    सम्बन्धित समाचार...