
माओवादी केन्द्रसहितको चार दलहरूले समाजवादी मोर्चाको घोषणा गरेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका चार कम्युनिस्ट दलहरूले राजनीतिक स्थिरताका लागि भन्दै मोर्चा घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा सुरू भएको घोषणा कार्यक्रममा ४ दलका प्रमुखहरूले हस्ताक्षर गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तारुढ तीन दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको बैठकले आज समाजवादी मोर्चाको घोषणा गर्ने सहमति गरेका थिए । त्यसका लागि कार्यविधिसमेत तयार गरिएको नेताहरुले जानकारी दिएका थिए ।
समाजवादी मोर्चा गठनका लागि माओवादीबाट कृष्णबहादुर महरा, जसपाबाट राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट प्रमेश हमालले कार्यविधि तयार पारेका थिए । तीन दलबीच पार्टी एकता गरेर अघि बढ्ने विषयमा छलफल भए पनि तत्काल संम्भव नभएकाले मोर्चा बनाउने निष्कर्षमा पुगिएको एकीकृत समाजवादीले जनाएको छ ।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका हुन्।