
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार बहुमत गुमाउनबाट १० मतले जोगिएको छ । नयाँ आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सरकारको पक्षमा १४७ मत पर्यो । १० मत कम आएको भए बजेट पारित नहुने मात्र होइन, सरकारमाथि विश्वाससमेत गुम्ने अवस्था आउनेवाला थियो । तर, विनियोजन विधेयक बहुमतबाट पारित भएको छ र सरकार पनि ढल्नबाट जोगिएको छ ।
गत पुस १० मा बनेको दाहाल नेतृत्वको गठबन्धन सरकारले संसद्बाट क्रमशः समर्थन गुमाउँदै जान थालेको छ । यसैको पछिल्लो कडी हो बुधबार प्रतिनिधिसभामा भएको मत विभाजन । बजेट पारित गर्न मतविभाजन हुनुपर्ने विपक्षी एमालेको मागपछि भएको भोटिङमा सरकारको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत खसेको थियो ।
प्रधानमन्त्री बनेको १६औं दिनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा दाहालको पक्षमा २६७ मत परेको थियो । त्यसबेला सभामा उपस्थित २७० सांसदमध्येबाट दाहालले २६७ मत पाएका थिए ।
प्रधानमन्त्री दाहालले गठबन्धन फेरिएपछि मार्च २० मा दोस्रोपटक विश्वासको मत लिए । त्यसबेला उनको पक्षमा १७२ मत खस्यो भने विपक्षमा ८९ मत मात्र पर्यो । तर, बुधबार बजेटमाथिको मतविभाजनमा सरकारको समर्थन साँघुरिएको छ भने विपक्षीको दायरा फराकिलो देखिएको छ ।
क-कसले दिए सरकारलाई समर्थन ?
सरकारको पक्षमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन जोड्दा १४२ सीट पुग्छ । बुधबारको मतदानमा माओवादीलाई चार दलबाहेक थप ५ सांसदले समर्थन गरेको देखिन्छ । लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमत पार्टीका ६ जना सांसदले सरकारको पक्षमा मतदान गरेको भए १५० भन्दा बढी हुने थियो । तर, सरकारलाई नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र सांसद प्रभु साहले मात्रै समर्थन जनाएको अंकगणितले देखाएको छ । जनमत पार्टी भने सरकारको विपक्षमा उभियो ।
विपक्षतर्फ हेर्दा एमालेको ७८, रास्वपाको २१ र राप्रपाको १४ मत जोड्दा ११३ मत खस्नुपर्नेमा १०८ मत मात्रै परेको देखिन्छ । राष्ट्रिय जनमोर्चा र नेमकिपाका १/१ जना सांसद सरकारको पक्षमा उभिएनन् । तर, प्रतिनिधिसभामा बुधबार उपस्थित सांसदको संख्या २५५ मात्र थियो ।
ओलीले भने- सरकारमाथिको विश्वास घट्यो
प्रतिनिधिसभाले पहिलोपटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमाथि संसद्को विश्वास घटेको दाबी गरेका छन् । उनले ९९ प्रतिशत रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत पुगेको जनाए ।
‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । केभन्दा के हुनुपर्यो ?’ ओलीले भने । अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको जनाए । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।