८ बैशाख २०८२, सोमबार

नेकपा एमाले संघ र सातै प्रदेश सरकारबाट बाहिर

uml

कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकी मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएसँगै नेकपा एमाले संघ र सातै प्रदेश सरकारबाट बाहिरिएको छ ।

गत पुस १० गते एमालेसहित, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपासहितको गठबन्धन बनेपछि ४ वटा प्रदेश सरकारको नेतृत्व एमालेले गरेको थियो । एमालेबाट गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । एमाले माओवादी गठबन्धन भत्किएर कांग्रेस माओवादीको पु्रानै गठबन्धन बनेपछि एमाले मुख्यमन्त्रीहरुले विश्वासको मत लिन नसक्दा एक महिनामै एमाले सरकारबाट बाहिरिएको हो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा नयाँ समीकरण बनेपछि एमाले नेतृत्वका प्रदेशमा सरकार एकपछि अर्को गर्दै ढलेका हुन् । नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएसँगै सुदुरपश्चिममा रावल नेतृत्वको सरकार माघको तेस्रो साता ढलेको थियो । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । उनले एमालेसमेतको विश्वासको मत पाएका छन् ।

बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसकै डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । कोशीमा कसको सरकार बन्छ भन्ने स्पष्ट छैन ।