
एक वर्षभित्रै भारतीय आयल निगम (आईओसी) लाई २४ अर्ब रुपैयाँ तिरेर बक्यौता मुक्त भएको नेपाल आयल निगमले स्वचालित मूल्यमा जान भने आनाकानी गरेको छ ।
चर्को आलोचनापछि सोमबार मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य केही समायोजन गरेको थियो । त्यति गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ६१ पैसा, डिजेलमा ९ रुपैयाँ २ पैसा, मट्टितेलमा २३ रुपैयाँ नाफा छ ।
त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा २५ रुपैयाँ ३६ पैसा र वाह्यतर्फको हवाई इन्धनमा ४२ रुपैयाँ ६२ पैसा फाइदा छ । विगतमा निगमको घाटाको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने खाना पकाउने ग्यासमा समेत यस पटक निगम नाफामा गएको छ ।
जुलाई एकको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासमा निगमलाई १० रुपैयाँ ७३ पैसा नाफा छ । पेट्रोलियम पदार्थमा १५ दिनमा निगमलाई १ अर्ब ११ करोड नाफा छ । आयल निगम नाफा गर्ने संस्था नभए पनि नाफा खोज्दा त्यसको भार उपभोक्तामा परेको छ ।
तर निगम भने विभिन्न कोष र सरकारसँग लिएको करिब ३३ अर्बको दायित्व बाँकी नै रहेकाले उपभोक्ताको मागअनुसार मूल्य समायोजन गर्न नसकेको बताउँछ ।
निगमले एक वर्षमा आईओसी र राष्ट्रिय वाणिज्य बैंकको गरी ३१ अर्ब ऋण चुक्ता गरेको छ । ५ प्रतिशत ब्याजमा सरकारसँग लिएको ७ अर्ब ऋण तिर्न बाँकी छ ।
अहिले नेपाल आयात निगमले नेपाल सरकारलाई पेट्रोलमा ६१ रुपैयाँ ९८ पैसा, डिजेलमा ४४ रुपैयाँ २८ पैसा, मट्टितेलमा ३० रुपैयाँ ७८ पैसा, हवाई इन्धन आन्तरिक १९ रुपैयाँ ६१ पैसा र खाना पकाउने ग्यासमा २ सय ८१ रुपैयाँ ५८ पैसा कर तिर्ने गरेको छ ।
निगमले यो वर्ष सरकारलाई १ खर्ब ९ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।