
महोत्तरीमा गोली प्रहारबाट एक जना सिकिस्त घाइते भएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलाबार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।
बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिए ।
कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । हाल उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।