
विपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।
आज (बुधबार) को बैठक सुरु भएलगत्तै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको भावना र स्वाभिमानमा ठेस लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका थिए । उनले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताएपछि एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु रोस्टम अगाडि उभिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरे ।
बैठक पुन: सञ्चालन गर्न सभामुख घिमिरेले राजनीतिक दलहरुका सचेतकसँग परामर्श गरेका थिए । तर सहमति नजुटेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा आउनुपर्ने माग गरे ।
प्रधानमन्त्री दाहालले काठमाडौंमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेले राष्ट्रियसभा बैठक पनि अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरे । प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रलाई नै कमजोर बनाउने खालको रहेको भन्दै उनले आपत्ति जनाए ।
एमालेको अवरोधपछि स्थगित राष्ट्रिय सभा बैठक पनि भोलि (बिहीबार) बस्ने गरी सारिएको छ ।
यसैबीच, प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । कानुनबमोजिम अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्छ ।
जसअनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची थियो । तर बैठक अवरुद्ध भएका कारण यसअघि ल्याइएको अध्यादेश स्वतः निष्क्रिय भएको हो । आज (बुधबार) प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित गरेर राष्ट्रियसभामा सन्देशसहित पठाउनुपर्ने थियो । उक्त सन्देश राष्ट्रियसभामा सुनाइसकेपछिमात्र प्रतिस्थापन विधेयक पारित हुने थियो ।