
सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको निष्कर्ष निकालेको छ । आफ्नो अभिव्यक्तिबारे संसद्मा जवाफ दिन भने प्रधानमन्त्री दाहाल तयार भएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्मा जवाफ दिने निष्कर्ष निकालेको हो । व्यवसायी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । सोही कारण संसद्समेत अवरुद्ध छ । आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे सत्तारुढ दलहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै सत्ता गठबन्धनले बुधबारदेखि निष्क्रिय भएको मिटरब्याज पीडितलाई सम्बोधन गर्ने अध्यादेश पुनः विधेयकका रुपमा संसद्मा अघि बढाउने निर्णय पनि गरेको छ ।
तर, गठबन्धनमा आबद्ध जसपा र लोसपाले भने उक्त अध्यादेशलाई परिमार्जन गरेर मात्रै विधेयकका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । बैठकले कांग्रेसका उद्धव थापालाई कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा अघि सार्ने निर्णय पनि गरेको छ ।