९ बैशाख २०८२, मंगलवार

गायक रबिन तामाङको अन्त्येष्टि आज

robintamang

मंगलबार साँझ ६० वर्षको उमेरमा रहस्यमय निधन भएका नेपालका चर्चित रक स्टार रबिन तामाङको अन्त्येष्टि आज हुने भएको छ ।

नेपाली रक ब्याण्ड ‘रबिन एन्ड दी रिभोलुसन’ का गायक तथा संगीतकार तामाङले गायन क्षेत्रलाई बिर्सन नसकिने गुन लगाएका छन् ।

अन्य जनराको गीत संगीतमा गायन महत्वपूर्ण हुन्छ । तर रकमा गायकीभन्दा बढी प्रस्तोताको शैली हुन जरुरी छ । रविन गायकमात्र थिएनन् अब्बल प्रस्तोता पनि थिए । उनका समकालीन सुगम संगीतमा रमाइरहेका बेला रबिन रक संगीतमा संघर्ष गरिरहेका थिए । उनको गीतसँगै चालीसको दशकको युवा पुस्ता हुर्कियो । पचासको दशकका तन्नेरीहरु गितार समाउने भए । र नेपाली रक संगीत स्थापित भयो ।

आधुनिकता पच्छ्याएर हिँडिरहेका युवा उनमा आफूलाई खोज्थे । आफूलाई भेट्थे । विदेशमा जन्मिएर हुर्किएका रविनको व्यक्तित्व र शैली धेरैले नक्कल गरे । रविन सन् १९६३ मा सिंगापुरमा जन्मिएका हुन् । बाबुको जागिरसँगै उनको बाल्यकाल विभिन्न पाँच देशमा बित्यो । सिङ्गापुरमा प्रारम्भिक विद्यालय शिक्षाका क्रममा उनी जिमी हेन्ड्रिक्स र डिप पर्पलका गीत सुन्थे । उनीहरुकै प्रेरणाले रक संगीतमा लागे ।

पछिल्लो समय उनले नेपाली चलिचत्र अभिनय गर्न थालेका थिए । चलिचत्रमा खलनायकको भूमिकामा रहने उनी जीवनमा सधैँ नायक रहिरहे । उनले मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, छड्केलगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् ।

रबिनको निधनले गितारको झंकारलाई बन्द गर्न सक्ने छैन । उनको गितार बजिरहने छ र झंकृत भइरहने छ युगौंयुगसम्म ।

    सम्बन्धित समाचार...