
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणा देउवालाई रकम बुझाएको भन्ने सम्बन्धी अडियो उक्त प्रकरणमा पक्राउ परेका दाङका सन्देश शर्मासँग मिलेको पाइएको छ ।
पीडित भनिएका गजेन्द्र बुढाथोकी र शर्माबीच भएको ३६ मिनेट लामो संवादको अडियोमा शर्माले राणालाई पैसा बुझाएको उल्लेख गरेका छन् । सो अडियो विधि विज्ञान प्रयोगशालामा परीक्षण गरेर प्रहरीले मिसिलका रुपमा अदालतमा बुझाइसकेको छ ।
अडियो जाँचको रिपोर्ट प्रहरीले राणालाई पनि जानकारी गराएको छ । अडियोमा आफ्नो नाम मुछिएपछि राणाले अडियो नै नक्कली भएको दाबी गर्दै जाँचका लागि गत वैशाख २७ गते प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । परीक्षण गर्दा उक्त अडियो शर्माकै भएको प्रहरीले जनाएको छ ।
शर्मा र बुढाथोकीबीचको संवादका आधारमा राणाले रकम लिएको भन्ने तथ्य भने खुलेको छैन ।