
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगेका छन् ।
दाहालको पार्थिक शरीर बिहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको अन्त्येष्टि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा हुने जनाइएको छ ।
६९ बर्षीया दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा उपचारका क्रममा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । नर्भिक अस्पतालकाअनुसार पीएससीका साथै पार्किन्सन, डाइबिटिज, हाइपरटेन्सलगायतको रोगका कारण उनको निधन भएको हो ।
दाहाल प्रोगेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएससी) भनिने जटिल रोगबाट लामो समयदेखि पीडित थिइन् । उपचारका लागि दाहाललाई अमेरिका, सिंगापुर भारतमा समेत उपचार गराइएको थियो ।
२०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुबा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट उनको जन्म भएको थियो । प्रधानमन्त्री दाहालसँग २०२६ सालमा विवाह भएको थियो । २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।
उनको निधनप्रति माओवादी केन्द्रले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षलगायत सिंगो परिवारमा समवेदन व्यक्त गरेको छ । दाहालले पुर्याएको योगदानको स्मरण गर्दै माओवादी केन्द्रले उनको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको जनाएको छ । साथै आम जनसमुदायमा धेर्यधारणका लागि माओवादी केन्द्रले अपिल गरेको छ ।