९ बैशाख २०८२, मंगलवार

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

kp oli 1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार राति स्वदेश फिर्ता भएका छन् ।

गत आइतबार भएको कम्बोडियाको संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी भएर ओली स्वदेश फर्किएका हुन् । पाँच दिने कम्बोडियाको भ्रमण पूरा गरी फर्किएका अध्यक्ष ओली सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

विमानस्थलमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्बाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरूले स्वागत गरेका थिए । ओलीसँगै उपमहासचिव विष्णु रिमाल, श्रीमती राधिका शाक्य र स्वकीयसचिव राजेश बज्राचार्य पनि फर्किएका छन्।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचनको सिलसिलामा अध्यक्ष ओलीले विभिन्न मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गरेका थिए । मतदान सकिएपछि पर्यवेक्षण टोलीले आयोजना गरेको पत्रकार सम्मेलनलाई उनले सम्बोधन गरेका थिए।

भ्रमणको क्रममा ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेन, नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलक, श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रिपाला सिरेसेना, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीलगायतसँग भेटवार्ता गरी दुई देशबीचको आपसी हितमा केन्द्रित रहेर कुराकानी गरेका थिए।

९८ पार्टीले भाग लिएको निर्वाचनमा सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीसी) ले बहुमत हासिल गरेको छ। ०७६ मा प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए ।

    सम्बन्धित समाचार...