
नेपाली कांग्रेसका नेताहरुले पार्टीमा नेतृत्व परिवर्तन स्वभाविक प्रक्रिया रहेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नेतृत्वमा फेरबदल स्वाभाविक रहेको जनाए । पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने भएकाले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको बताए ।
पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताए । कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउन सक्ने भन्दै उनले अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस रहेको उल्लेख गरे ।
नेता दिलेन्द्रप्रसाद बडूले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रहेको उल्लेख गर्दै महामन्त्री गगन थापाको कार्यतालिका र कार्यक्रमलाई पार्टीकै मानेर कार्यान्वयनमा एकजुट हुन आह्वान गरे । नेताहरु विजयकुमार गच्छदार र तारानाथ रानाभाटले राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने धारणा राखे ।