
दैलेखको दुल्लुमा नेकपा माओवादी पार्टीको नाममा चन्दा माग्ने दुई युवा पक्राउ परेका छन् ।
पार्टीलाई आर्थिक सहयोग भन्दै चन्दा माग्ने दुई जनालाई इलाका प्रहरी कार्यालय दुल्लुले प्रक्राउ गरेको हो । दुल्लु नगरपालिका वडा नं. १३ का समीर शाही र चन्द्रबहादुर शाही पक्राउ परेका हुन् ।
दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिदिनु भन्ने रसिद र पत्र नगरपालिका कार्यालयमा बुझाएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।
उनीहरुको साथबाट उक्त पार्टीको पम्प्लेट ५ थान, सहयोग रसिदको ठेली १ थान, स्ट्याम्प प्याड १ थान, पार्टीको छाप १ थान, डायरी र कपी १-१ थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।