
एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङले आफ्नो मोबाइल फर्म्याट गरेका कारण सम्पर्क सूत्र भेटाउन राजस्व अनुसन्धान विभागलाई हम्मे परेको छ ।
ठमेल भियाना होटेलबाट गत शनिबार पक्राउ परेका दावा छिरिङको बयानपछि अन्य चार चिनियाँ नागरिकको संलग्नता आशंका गरिएको हो । विभागले सुन तस्करीमा संलग्न अन्य चार चिनियाँ नागरिकको खोजी तीव्र बनाएको छ । तर आइतबारदेखि अहिलेसम्म खोजी गरे पनि भेटाउन सकेको छैन ।
भाग्न नदिन त्रिभुवन विमानस्थल कार्यालयसँगै तातोपानी र केरुङ नाकामा समेत उच्च सतर्कता अपनाइएको छ । पक्राउ परेका १८ जनामध्ये तस्करीबाट आएको सुनको व्यवस्थापनमा दावाको संलग्नता देखिएको छ । दाबाले पक्राउ पर्नुअघि नै दुवै फोन फर्म्याट गरेका कारण उनीसँग संलग्न अन्य व्यक्तिको विवरण लिन कठिन भएको विभागका महानिर्देशक नवराज ढुंगानाले भने ।
‘अनुसन्धानका क्रममा विभिन्न तथ्यहरुलाई केलाइरहेका छौं । ती तथ्यहरुका आधारमा अगाडि बढ्दै गरेको अवस्था छ । यसमा प्राविधिक पक्ष महत्त्वपूर्ण पाटोका रुपमा देखापरेको छ,’ उनले कान्तिपुर टेलिभिजनसँग भने, ‘यसका लागि उनीहरुले प्रयोग गरेका इलेक्ट्रिक डिभाइस, सोसल साइट, फोन कल, एसएमएसहरु पनि महत्त्वपूर्ण हुन्छ । यी सबै कुराको एनालाइसिस गरेका छौं ।’
उनले अनुसन्धानमा आफूहरु सूक्ष्म रुपमा हेरिरहेको जनाए । ‘कतिपय रिपोर्ट आउन स्वभाविक समय लाग्ने र कतिपय आइसकेको अवस्थामा छ । आइसकेको हामीले हेरिरहेका छौं र कतिपय शंकास्पद ठाउँहरुमा निगरानी गर्ने काम पनि भइरहेको छ,’ महानिर्देशक ढुंगानाले भने ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीको सेटिङदेखि राजनीतिक नेता व्यवस्थापनमा समेत दावा नै सक्रिय रहेको देखिएको छ । दावासँग संलग्न रहेका केही व्यक्तिलाई आज पनि विभागले बयान लिएको छ । सुन तस्करीमा संगठित अपराधमा, विदेशी मुद्रा अपचलनजस्ता विषय रहेको हुँदा आगामी दिनमा राज्यका अन्य संयन्त्रको पनि खाँचो आवश्यक पर्ने विभागको भनाइ छ ।
विभागले सुन कसरी आयो भन्ने विषयमा हङकङस्थित अनुसन्धान कार्यालयहरुसँग पनि समन्वय गरिरहेको दाबी गरेको छ । साउन ३ मा त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट तस्करीको सुन छुटेपछि रहस्य खुलेको हो ।
राजस्व अनुसन्धान विभागले मुख्य अभियुक्त अझै भेटाउन सकेको छैन । संगठित गिरोहले तस्करी गरेको प्रारम्भिक अध्ययनहरुले देखाएको छ । विभागका अधिकारीहरुले ९० दिनअगावै अनुसन्धान टुंगाउने मनस्थितिमा पुगेको छ । त्यस्तै सुन तस्करीमा उच्च स्तरीय छानबिन समिति बनाउने र प्रहरीलाई जिम्मा लगाउने आवाज उठेपछि विभाग पर्ख र हेरको अवस्थामा छ ।