
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोमा पुरिएर एकै परिवारका ५ जना बेपत्ता भएका छन् । उक्त स्थान मकवानपुर र काभ्रेको सिमानामा पर्छ ।
पहिरोमा परेका एक जनाको उद्वार गरिएको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ ।
पहिरोमा परी अकलबहादुर स्याङतान, शान्तिमाया स्याङतान, शीला स्याङतान, जीव्न पहरी, साढे दुई वर्षका बालक देव पहरी, एक वर्षकी बालिका देव्यानी पहरी बेपत्ता भएको अध्यक्ष थिङले जनाए ।
सिक्रे दोभानमा भएका केही जलविद्युत आयोजनासमेत पहिरोमा पुरिएका छन् । बाढी आएपछि स्थानीय सुरक्षित स्थानमा गएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सिक्रेमा पाँच जना बेपत्ता भएको जानकारी आएको र खोजी कार्यका लागि सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए । उनले भने, ‘पाँच जनाको अवस्था अज्ञात हो । खोजी कार्य भइरहेको छ ।’