
प्रतिनिधि सभाको बैठक स्थगित् भएको छ । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समितिको मागबाट ब्याक नभएपछि संसद् अवरोध नहटेको हो ।
बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्नका लागि समय दिएका थिए ।
सभामुख घिमिरले थापालाई बोल्न समय दिएलगत्तै सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्ता पक्षका सांसदहरुका बीच बोल्दै थापाले एक सय किलो सुन प्रकरणमा तस्करलाई संरक्षण गर्ने गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ आएकाले एमालेको विरोध जारी रहेको जनाए ।
सुन तस्करी काण्डको २२ दिन बित्दा पनि सत्ता पक्षले छानबिनका लागि कुनै मनसाय देखाउन नसकेको थापाले उल्लेख गरे । थापाले बोलिरहँदा सत्ता पक्षका सांसदहरुले उठेर विरोध गरिरहे भने सभामुख घिमिरेले उनीहरुलाई बस्न पटक पटक आग्रह गरेका थिए ।
थापाले बोलिसकेलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनु पर्ने अडान लिँदै आएको छ ।
एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले आजको लागि निर्धारित सम्पूर्ण कार्यसूची हटाइएको जानकारी गराउँदै साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।