
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।
गएराति सम्पन्न सिजनको पहिलो खेलमा युनाइटेडले वुल्भर ह्याम्पटन वान्डरर्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटको जितमा डिफेन्डर राफाएल भारानले गोल गरे । भारानले खेलको ७६ औँ मिनेटमा गोल गरेका थिए ।
ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट पास निकालेपछि वान बिसाकाले दिएको पहिलो बललाई भारानले हेडरमार्फत गोल गरेका थिए । वुल्भ्सका लागि ब्राजिलियन फरवार्ड माथिअस कुन्हाले पटक पटक युनाइटेडको डिफेन्सलाई समस्यामा पारे पनि फिनिसिङ गर्न भने सकेनन् ।
साँघुरो जितसहित युनाइटेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।