
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै प्रदेशसभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डल गनगाईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री थापाले सत्तारुढ गठबन्धनका कांग्रेस सांसद मण्डललाई कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् । कृषि राज्यमन्त्री मण्डललाई मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । गनगाई नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर पाँच (१) बाट निर्वाचित प्रदेश सांसद हु्न् ।
कोशी प्रदेशमा सरकार जोगाउन आवश्यक बहुमत संख्या पुर्याउन चलखेल भइरहेको अवस्थामा प्रदेशसभाका ज्येष्ठ सदस्यलाई मन्त्री बनाइएको हो । बहुमत संख्या (४७) पुर्याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिने समय नजिकिँदै गर्दा अर्को कदम चालेका हुन् ।
सभामुखलाई राजीनामा गराएर गठबन्धनले बहुमत पुर्याएपनि प्रमुख प्रतिपक्षी एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले पनि राजीनामा दिने डरले मुख्यमन्त्री थापाले चलाखी गरेको देखिन्छ । उपसभामुखले राजीनामा गरे प्रदेशसभाका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता हुन्छ । यदि त्यो भएको अवस्थामा सरकारले विश्वासको मत लिने बेलामा बहुमत नपुग्ने जोखिम छ ।
संविधानले बराबरी मत भएको अवस्थामा मात्रै अध्यक्षलाई मतदानको अधिकार दिएकाले त्यही संवैधानिक बाध्यता छल्न गठबन्धनले मण्डललाई मन्त्री बनाएको हो । थापा यही साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
सर्वोच्च अदालतको आदेशले साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत संख्या ४७ पुर्याएका मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मण्डललाई राज्यमन्त्री बनाएका हुन् ।
प्रदेश सभाको बैठक भदौ १ गते दिउँसो एक बजेका लागि बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने तयारी गरिरहेका छन् । सभामुखको राजीनामापछि प्रदेशसभाको बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
थापालाई प्रदेशसभाबाट विश्वासको मत लिन उपसभामुख दनुवारले बैठकको अध्यक्षता गर्दा सहज हुन्छ । सरकार निर्माणकै लागि सत्ता गठबन्धनले तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराइसकेका कारण एमालेले पनि उपसभामुख दनुवारलाई विश्वासको मत लिने दिन बैठकमा अनुपस्थित गराउनेसम्मको रणनीति बनाइरहेको छ ।
मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी छ ।