
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।
विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए । मन्सुरीलाई मत दिन लगाएर ठीक गरेको अथवा बेठीक भन्ने कुरा सर्वोच्चले व्याख्या गर्ने उनले बताए ।
‘प्रदेश सभा चाहिन्छ भनेर नै हामी यो निर्णयमा पुगेको हो । यो निर्णयविना अर्को विकल्प के छ त ? सरकार विहीन अवस्थामा त प्रदेश रहनु भएन । संविधान र संसद्को कुरा चाहिँ के छ भने उहाँहरु फेरि पनि अदालत जानुहुन्छ । फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला,’– उनले भने ।
यो स्थितिको जिम्मेवारी उपसभामुखले लिनुपर्ने थापाको भनाइ छ । आजको कदमले प्रदेश सभाको औचित्य सिद्ध गरेको पनि उनले दाबी गरे ।
‘उपसभामुखले आज बैठक डाकेर आफू भाग्न मिल्छ ? यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखबाट भयो । उहाँले जिम्मेवारी लिनुपर्छ । उहाँले आजको समय दिए र प्रदेशसभाका सदस्यलाई तोकेर आफू हिँड्ने ? आफ्ना दलका ज्येष्ठ सदस्यलाई छुट्टि बस्न लगाएर प्रदेशसभा खाली गर्ने ? आज जसले अध्यक्षता गर्नुभयो, उहाँ सभामुख होइन । उहाँसँग मतदान गर्ने अधिकार छ । आजको कदमले प्रदेशसभाको औचित्य सावित भएको छ,’ थापाले भने ।
सभाध्यक्षले मतदान गर्ने निर्णय संविधानसम्मत रहेको उनले दाबी गरे ।