
निजी सैन्य कम्पनी वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिन बुधबार भएको रहस्यमय विमान दुर्घटनामा मारिएको पुष्टि भएको रुसी अधिकारीहरुले जनाएका छन् ।
विमान दुर्घटनामा मारिएकाहरुको शवको जनेटिक अर्थात् आनुवंशिक विश्लेषणपछि प्रिगोजिन मारिएको पुष्टि भएको रुसी अधिकारीहरुको दाबी छ । विमान दुर्घटनाको अनुसन्धान गरिरहेको समितिले मारिने १० जनाकै पहिचान सुनिश्चित गरिएको र विमानमा सवार यात्रुको सूचीसँग त्यसको मिलान भएको जनाएको छ । समितिले दुर्घटनाको कारणबारे फौजदारी अनुसन्धान जारी रहेको जनाइएको छ ।
विमानमा सवार १० जनाको सूचीमा प्रिगोजिनको नाम भए पनि आनुवंशिक परीक्षण नगर्दासम्म रुसी अधिकारीहरु उनको मृत्य भएको सुनिश्चित गर्नबाट जोगिँदै आएका थिए । गत बुधबार प्रिगोजिनको निजी एम्ब्रेयर विमान मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ जाँदै गर्दा तभेर क्षेत्रको कुजेन्किनो गाउँनजिकै दुर्घटना भएको थियो ।
विमानमा चालक दलका तीन र जना अन्य सात यात्रु सवार थिए । विमानमा सवार सात यात्रुमा प्रगोजिनका अतिरिक्त उनको दाहिने हात मानिने दिमित्री उत्किनका साथै वाग्नर ग्रुपका थुप्रै वरिष्ठ सैन्य कमान्डरहरु रहेको जनाइएको छ ।
रुसी सेनाविरुद्ध असफल विद्रोहको घोषणा गरेको ठ्याक्कै दुई महिनापछि प्रिगोजिन मारिएका हुन् । पुटिनले प्रिगोजिनको विद्रोहलाई पिठ्युँमा छुरा घोपेको बताएका थिए । उनको हत्याका पछाडि रुसी सुरक्षा बलको हात रहेको चौतर्फी आंशका गरिएको छ । क्रेमलिनले भने यस्तो आशंकालाई अस्वीकृत गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस्ता हल्ला पूर्णत: झुटो भएको प्रतिक्रिया शुक्रबार दिएका थिए ।
विमान दुर्घटनाको चौबीस घण्टापछि आफ्नो मौनता तोड्दै राष्ट्रपति भ्लादिमिर पुटिनले प्रिगोजिन एकजना प्रतिभावान व्यवसायी भएको तर उनले जीवनमा धेरै गम्भीर गल्ती गरेको बताएका थिए । कुनै समय पुटिनको अत्यन्त विश्वासपात्र मानिएका प्रिगोजिनले २०१४ मा भाडाका निजी सैनिकहरुको कम्पनी वाग्नर ग्रुपको स्थापना गरेका थिए । रुसी सरकारले वाग्नर ग्रुपलाई युक्रेन, सिरिया, लिबिया, सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायत देशमा छद्म रुपमा प्रयोग गर्ने गरेको प्रमाणहरुले देखाएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।