
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शनिवार राति करिब साढे ९ बजे सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे ।
मेयर बालेनले आक्रोशले भरिएको उक्त स्टाटसमा पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई चोर मात्र भनेन सिंहदरबारमा आगो लगाउने धम्की समेत दिए ।
स्टाटसमा उनले महानगरको गाडी कहीँ कतै रोकिएको र आगामी दिनमा रोकिएमा के हुन्छ भन्दै धम्कीको शैलीमा स्टाटस लेखे । उक्त तल्लो स्तरको लेखाइको आशय प्रारम्भमा कसैले पनि बुझेनन् । यद्यपि, केही घण्टापछि बालेनले स्टाटस लेख्नुको खास कारण बाहिरियो ।
बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन्।
शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबार जलाइदिने धम्की दिनुका साथै सरकारलाई ‘चोर’समेत भनेका छन्। महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताए।
बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताए। आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतलाई पनि यसबारे सोधेका थिए।
