
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने जनाएका छन् ।
बुधबार काठमाडौंको नक्सालस्थित नारायण चौरमा पार्टीले आयोजना गरेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्रै अर्को व्यवहार देखाउन नहुने जनाए । ‘सरकारलाई म भन्न चाहन्छु, सरकारले देखावटी रुपमा एउटा कुरा गर्ने र भित्रभित्रै अर्को खालको व्यवहार देखाउने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढावा दिने र सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु सरकारले गर्नु हुँदैन ।’
उनले सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरु गर्नु नहुने जनाए । उनले संविधान दिवस नेपाली जनताको साझा दिवस भएको पनि उल्लेख गरे । अध्यक्ष ओलीले उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापहरु देखिने गरेको भन्दै त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरे । उनले जनताको एकता, उन्नतिका लागि विभाजनकारी प्रवृत्ति, जनतामा खटपट ल्याउने प्रवृत्ति, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्ति, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थाका नाममा गरिएका उच्छृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा नरहेको जिकिर गरे ।
‘कहीँ कतै हाम्रा उपलब्धिहरुलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरु छिटपुट रुपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई भंग गर्ने खालका जुनसुकै काम, विचारहरु सकारात्मक कुरा हुन सक्दैन,’ ओलीले भने, ‘जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरु, जनतामा खटपट ल्याउने प्रवृत्तिहरु, राष्ट्रिय एकतामा खलल पुर्याउने प्रवृत्तिहरु, क्षेत्रीय, साम्प्रदायिक, जातीयतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उच्छृंखल खालका क्रियाकलापहरु राष्ट्रिय एकताको पक्षमा छैनन् । त्यसले हाम्रो राष्ट्रिय एकतालाई कमजोर पार्छ । यस्ता कुरा गर्नु हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले संविधान दिवस सरकारी दिवस नभइ सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरे । उनले संविधानको प्रभावकारी कार्यान्वनय गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताए । संविधान दिवसका अवसरमा काठमाडौंको नक्सालस्थित नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।
