
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २ – ० गोलको सहज जित हात पारेको छ ।
भर्जिल भान डाइकले ३७ औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको कर्नरमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । भान डाइकको लिभरपुलका लागि सिजनको यो पहिलो गोल हो ।
पहिलो हाफमा लिभरपुल १ – ० ले अघि रह्यो । ब्रेकपछि पनि सेफिल्डले पुनरागमन गर्न सकेन । इन्जुरी समयमा डोमिनिक सोबास्लाइले गोल गरेपछि योर्गन क्लोपको टोलीले २ – ० को जित दर्ता गरेको हो । यो गोल भने विवादास्पद बनेको थियो । लिभरपुलका डाविन नुनियाजले सेफिल्डका जेडेन ब्लोगोलाई च्यालेन्ज गरेका थिए । तर रेफ्रिले खेल रोकेनन् । सोही क्रममा बल अघि बढाउँदै लिभरपुलले गोल गरेको थियो ।
यो जितपछि लिभरपुलले शीर्षस्थानको आर्सनलसँगको दूरी दुई अंकमा झारेको छ । दोस्रो स्थानको लिभरपुलको ३४ र आर्सनलको ३६ अंक छ । रेलिगेसन जोनको अन्तिम स्थानमा रहेको सेफिल्डको भने मात्र पाँच अंक छ ।
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित
यस्तै, बुधबार राति भएको अर्को खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा स्कट म्याक्टोमेनीले दुवै गोल गरेका थिए । चेल्सीका लागि कोल पालमरले १ गोल फर्काए ।
घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले १९ औं मिनेटमा म्याक्टोमेनीको गोलमा अग्रता बनाएको थियो ।
४५ औं मिनेटमा चेल्सीका पालमरले बराबरी गोल गरेका थिए । तर, ६९ औं मिनेटमा म्याक्टोमेनीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले २–१ को अग्रता लियो ।
सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकाल्न सफल भयो ।
जितसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
युनाइटेडका २७ अंक रहेको छ । पराजित भएको चेल्सी भने १९ अंकका साथ १० औं स्थानमा रहेको छ ।