
वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो ।
योगेशले ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता लोकप्रिय गीत गाएका छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय सिर्जना पनि उनकै हुन् ।
किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ ०२२ सालमा रेडियो नेपालमा रेकर्ड भएको छ ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेश ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएका थिए । उनका दुई छोरी र एक छोरा छन् ।