९ बैशाख २०८२, मंगलवार

राज्यलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरे देश बन्न सुरु हुन्छ: रवि लामिछाने

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिन देखि देश बन्न सुरु हुने बताएका छन् ।

सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन ।

उनका अनुसार नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिएमा देश बन्ने उनको तर्क छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ।

त्यसपछि मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ। फेस गरौँ, फेस नलुकाऔँ।

व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागी दिनरात खट्ने ८–१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।

स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यै पनि नगरौँ, देश बन्छ।

अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले ? ८४ मा।

    सम्बन्धित समाचार...