
साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली युवाहरूले नयाँ सोचका साथ ‘एसियन फ्युजन एण्ड जुस बार’ सञ्चालनमा ल्याएका छन् । समिर शर्मा र सविन शर्मा दाजुभाइले सञ्चालनमा ल्याएको ‘स्क्वीज्ड’ अहिले चर्चामा छ । बेलायतको लण्डनमै हुर्केका नेपाली मुलुकका दुई युवाको फरक सोच र नयाँ शैलीको ब्रान्डिङले यो व्यवसाय छोटो समयमा नै चर्चामा छ ।
टेक वे र हेल्डी फुडको सोचका साथ खुलेको यो रेस्टुरेन्टमा चिकेन, ल्याम्ब र भेज मःम, नुडल्सनका साथमा हाल चर्चामा रहेका दुई दर्जन भन्दा बढी सुसी उपलब्ध छन् । यस्तै, क्लासिकदेखि स्पेशलियाटी कफी र विभिन्न टिपिकल एण्ड एक्जोटिक फ्रेस जुस, एभोकाडो, सेलरी, साग, गाजर र काँक्रोको स्मुदी यहाँका विशेषता हुन् ।
यहाँ ग्राहककै अगाडि जुस र स्मुदी बनाएर दिइन्छ । जसका कारण, चाडै नै यो व्यवसायले ग्राहकको मन जितेको हो । यहाँ, नुडल्सन र मम मिक्स गरेको कम्बो बकस, सुसी पोकी बल निकै चलेका छन् । यस्तै, बालबालिकालाई आकर्षित गर्न किड्स मेनु पनि यहाँ उपलब्ध गराइएको छ । यो रेष्टुरेन्ट सातै दिन सञ्चालनमा आउनेछ । सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म र आइतबार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म यो रेष्टुरेन्ट सञ्चालनमा आइरहेको छ ।
लण्डनमा नेपालीले नै सुरु गरेको हट स्टोन सुसी विभिन्न पाँच तारे होटेलमा झण्डै एक दशक काम गरेका अनुभवी सेफ जय गिरीले तयार पार्छन् । सञ्चालक समिर भन्छन्–‘ब्रान्डलाई स्थापित गरेर यसलाई फ्रेन्चाइजको रूपमा विस्तार गर्ने योजना समेत हाम्रो छ । कसैले फ्रेन्चाइज लिन चाहेको अवस्थामा दिन सकिन्छ । उनीहरूले आफ्नै थिममा यसलाई खोल्न सक्छन् ।’