
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ ।
अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ ।
देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ । यस्तै आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन मौसम जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।