
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध निरन्तर लागिरहेको भन्दै आपत्ति जनाएका छन् । बिहिबार सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस भँगेराको शिकार गर्न तोप बोकेर हिँडिरहेको टिप्पणी गरेका हुन् ।
ओलीले ‘कांग्रेसजस्तो पार्टी रवि लामिछानेकाविरुद्ध खनियाछ। के खनिनु, भंगेरा मार्न जाने तोप बोकेर ?’ उनले प्रश्न गरे ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणको छानविनका लागि लामिछानेको नाम उल्लेख गरेर संसदीय समिति बनाउन पर्ने माग राख्दै आएको छ । सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवै तयार भएपनि कार्यादेश (टीओआर) मा कुरा बाझिएको छ ।
यता, ओलीको उक्त टिप्पणीमाथि प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले ओलीको त्यस्तो बोलीलाई या त असीम प्रेम या अति हेपाइको बोली भएको औँल्याएका छन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कार्कीले, ‘भाषण गर्ने क्रममा आज एमाले अध्यक्ष ओलीले भनेछन्, ‘‘खोइ रवि लामिछाने कि को भन्ने एक जना बाबुका विरुद्धमा कांग्रेस खनिएको छ …. भँगेरा मार्न जाने तोप बोकेर ।’’ ओलीको यो बोली या त असीम प्रेमको हो या अति हेपाइको । जुन भए पनि हानिकारक छन् ।’
‘उहाँले जुन विकृत प्रवृत्तिको विरोधमा त्यत्रो अभियान चलाइयो, त्यसले असीम प्रेम किन गर्छ ? जोसँग कुममा कुम जोडेर प्रचण्डको रथ तानिँदै छ, त्यसैको त्यस्तो हेपाइ किन सहिन्छ ? कार्कीको प्रश्न छ ।’