
बुद्ध जयन्तीको बिदाको अवसर पारेर बिहिबारबाट फिल्म ‘पुजार सार्की’ रिलिजमा आएको छ । दिनेश राउतको निर्देशनमा सुभाष भुसालको निर्माणमा तयार भएको यो फिल्मले सुरुवाती कलेक्शन सुखद गरेको छ ।
पहिलो दिन बिहानैबाट हलहरुमा दर्शकको चाप सुखद देखिएको छ । विशेष गरी फिल्मका बिहान भन्दा दिउँसो र बेलुकाका धेरै शो हाउसफुल रहे । ‘पुजार सार्की’का वितरक रोहित कट्टेलले फिल्मले देशभरका हलमा राम्रो दर्शकको साथ पाएको बताए । उनले शुक्रबार र शनिबार फिल्मले अझै धेरै दर्शक पाउने बताउँछन् ।
जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको फिल्ममा पछिल्लो समय लोकप्रिय स्टार नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहको मुख्य भूमिका छ । साथमा, फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ ।
फिल्मले वि.सं २०४६ सालदेखि हालसम्मको कथा भन्छ । विकास सुवेदीको लेखनमा तयार भएको यो फिल्ममा जातियताको कारण हुने गरेको विभेद हिजो पनि थियो र आज पनि छ भन्ने कथा उठान गरेको छ ।
फिल्ममा तीन नायक भएपनि प्रदीप खड्का हाबी छन् । २ घन्टा १५ मिनेट लामो यो फिल्मलाई उनैले नै होल्ड गरेका छन् । पल शाह एक विद्रोही नायकको रुपमा देखिँदा आर्यन सिग्देल शीर्ष भूमिकामा छन् ।
तर, प्रदीप खड्काको कमेडी संवाद, उनको अभिनयले दर्शकको मन जित्छ । ‘पुजार सार्की’लाई प्रदीपले होल्ड गरेको फिल्म भन्दा फरक पर्दैन । उनी पर्दाबाट हराउँदा दर्शकले उनलाई नै खोजी गर्छन् । जब-जब उनी पर्दामा देखिएपछि फेरि दर्शकको अनुहारमा हाँसो फर्किन्छ ।
फिल्म ‘प्रकाश’ पछि यो फिल्ममा प्रदीपले आफूलाई अब्बल साबित गरेका छन् ।