९ बैशाख २०८२, मंगलवार

आइपिएलको उपाधि कोलकातालाई

kkr 1

कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो । ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाएपनि त्यसपछि रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै क्याच आउट भएका थिए ।

गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।

कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए ।

कोलकाताका लागि मिचेल स्टार्कले घातक बलिङ गरे । उनले पावर प्लेमा दुई विकेट लिँदै हैदराबादलाई सुरुवातमा नै झट्का दिए । ३ ओभरमा उनले मात्र १४ रन खर्चिए ।

त्यस्तै, आन्द्रे रसलले ३ विकेट लिए भने हर्षित रानाले २ विकेट हात पारे । वैभव अरोरा, सुनिल नरेन र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

    सम्बन्धित समाचार...