
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए । त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५–१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १-१ विकेट लिए ।
त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित ५० बनाएका हुन । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए ।
चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १–१ विकेट लिए ।
विश्वकप क्रिकेटअन्तर्गत अहिले बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ । दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।
त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८: १५ बजेदेखि शुरु हुने छ ।
श्री लंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।