
आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल नहुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।
लगातार वर्षा भएपछि टस नै नभई खेल रद्द भएको हो । निरन्तर वर्षाका कारण फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदान भिजेको थियो । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । सेमिफाइनल र फाइनल खेलका लागि मात्र रिजर्भ डे राखिएका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको हो । यसै विश्वकपमा समूह ‘बी’मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल पनि वर्षाकै कारण रद्द भएको थियो ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । योसँगै श्रीलंकाको सुपर ८ को यात्रा कठिन बनेको छ र उसको अघिल्लो चरण पुग्ने सम्भावना निकै कम भएको छ ।
अब श्रीलंकाले समूहको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेट रनरेटमा अन्य टोलीभन्दा माथि रहनुपर्ने छ भने अन्य खेलको नतिजा पनि उसको पक्षमा आउनु पर्नेछ । नेपालले अब शनिबार वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाललाई पनि अघिल्लो चरणमा पुग्न दुवै खेल जित्नैपर्नेछ ।
श्रीलंका विश्वकपबाट बाहिरियो
विश्व विजेता टोली श्रीलंका वर्षाका कारण खेल रद्द भएसँगै जारी विश्वकपबाट बाहिरने पहिलो राष्ट्र बनेको छ । वर्षाका कारण नेपालसँगको खेल रद्द भएसँगै श्रीलंका बाहिरिएको हो ।
नेपालसँग खेल नखेलेको श्रीलंका एक खेलअगावै विश्वकपबाट बाहिरिएको हो । यसअघि श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।
श्रीलंकाले आगमी खेल जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ । यो खेलमा विजयी भए पनि उसको जम्मा ३ अंक हुने भएकाले पहिले नै विश्वकपबाट बाहिरिने निश्चित बनेको हो ।
सन् २०१४ मा विश्वकपको उपाधि उचालेको श्रीलंका दुई पटक उपविजेता बनेको छ ।