
सवारी चालकले अब सवारीचालक अनुमतिपत्र अर्थात् लाइसेन्स बोकेर हिँड्नुपर्ने झन्झट हट्ने भएको छ ।
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र प्राप्त गरेका ५५ लाख सेवाग्राहीको डाटा भएको ‘स्मार्ट डाटा बेस सिस्टम’ राष्ट्रिय परिचयपत्रमा एकीकृत गरेसँगै यो झन्झट हट्ने भएको हो । अब राष्ट्रिय परिचयपत्र प्राप्त गरेका सवारी चालकले लाइसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र देखाए पुग्ने भएको छ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ । ट्राफिक प्रहरीले राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको क्यु आर कोड वा नम्बरलाई क्युआर रिडर उपकरणबाट जाँच गर्नेछन् । त्यसैको तयारीका लागि एक महिनाको समय दिइएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचय पत्रका लागि हालसम्म १ करोड ५० लाख व्यक्तिले निवेदन दर्ता गराएका छन् । अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ । तर, पञ्जीकरण विभागले समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ३९ लाख मात्र राष्ट्रिय परिचय छापिएको छ भने ७ लाखले प्राप्त गरिसकेका छन् । अझै एक करोडभन्दा बढीले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न बाँकी छ । विभागले दैनिक २५ हजार हाराहारीमा मात्रै परिचय पत्र छाप्दै आएको छ ।
यातायात व्यवस्था विभागले पनि ट्रायल पास गरेका करिब २० लाखभन्दा बढी चालकलाई सवारी चालक अनुमति पत्र लाइसेन्स दिन सकेको छैन । विभागले २०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण गर्न थाले पनि छपाई गरेर वितरण गर्न नसक्दा सेवाग्राहीहरू चिटका भरमा यात्रा गर्न बाध्य छन् ।