
इङल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन । इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए ।
यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ । इङल्याण्डको ३ खेलमा ३ अंक भएको छ । समुह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अंकसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । यस समुहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन् ।
अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ । अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ ।
श्रीलंका विश्वकपबाट बाहिरियो
रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।
यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
यो खेलपछि समुह डी मा बंगलादेशक ओ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।
त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।
यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन् ।
अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन् ।