८ बैशाख २०८२, सोमबार

युरोकप: साबिक विजेता इटाली, स्पेन र स्वीजरल्याण्डको शानदार जित

Spain

यूएफा युरो कप फुटबल २०२४ मा सबिक विजेता इटालीले विजयी सुरुवात गरेको छ । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा इटालीले अल्बानियालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

खेल सुरु भए लगत्तै १-० ले पछि परेको इटालीले पुनरागमन जित हासिल गरेको हो । बीभीबी स्टेडियन, डर्टमुन्डमा अल्बानियाका लागि नेदिम बज्रामीले कीर्तिमानी गोल गरेपनि टिमलाई जिताउन सकेनन् । बज्रामीले युरो कप इतिहासकै सबैभन्दा छिटो १ मिनेटमा गोल गरेका थिए ।

११औं मिनेटमा अलेजान्द्रो बास्टोनीले गोल गर्दै इटालीलाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि निकोलो बारेलाले गोल गरेपछि इटाली २-१ ले अघि रह्यो । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि इटाली विजयी भयो ।

यसै समूहको अर्को खेलमा स्पेनले क्रोएसियालाई पराजित गर्‍यो । क्रोसियामाथि शानदार जित हासिल गर्दै स्पेन १ खेलमा ३ अंकसहित समूह बीको शीर्ष स्थामना पुगेको छ ।

स्पेनको जितमा अल्भारो मोराटा, फबियान रुइज र डानी कारभाजलले एक एक गोल गरेका थिए । स्पेनले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलमा क्रोसियाले धेरै अवसर पाएपनि गोलमा परिणत गर्न भने सकेन । क्रोसियाले खेलको ८०औ मिनेटमा पाएको पेनाल्टी ब्रुनो पेटकोभिकले मिस गरेका थिए ।

यो जितपछि स्पेनले युरोकपमा शानदार शुरुवात गर्दै समुह बी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यससँगै दोस्रो स्थानको इटालीको पनि ३ अंक छ । अल्बानिया र क्रोएसिया क्रमस तेस्रो र चौथो स्थानमा छन् ।

अब स्पेनले दोस्रो खेलमा इटालीसँग जुन २१ मा खेल्ने छ । त्यस्तै क्रोसियाले भने अर्को खेल जुन १९ मा अल्बानियासँग खेल्ने तालिका छ ।

यस्तै हिजै भएको अर्को खेलमा स्वीजरल्याण्डले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो ।

स्वीजरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक एक गोल गरेका थिए । स्वीजरल्याण्डले २ गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीले एक गोल खेलको ६६औ मिनेटमा फर्काएको थियो । हंगेरीका लागि बार्नाबास भार्गाले गोल गरेका थिए ।

यो जितपछि स्वीजरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर महत्वपूर्ण ३ अंक हसिल गरेको छ । समुह ए मा आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीजरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।