
सरकारका कामप्रति सत्तारुढ दलकै शीर्ष नेताहरु असन्तुष्ट देखिएका छन् । यसले सत्ता गठबन्धनभित्र खटपटको संकेत देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले विकासका काम नै गर्न नसकेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सरकारमा आफ्नो पार्टीका केही सदस्य छँदै छन् भनेर सन्तुष्ट हुन सक्ने अवस्था नरहेको भन्दै समग्र कार्यशैलीप्रति आलोचना गरेका हुन् ।
नेकपा एमाले संसदीय दलको काठमाडौंमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको दाबी गरे ।
तीन वर्षअघि आफू प्रधानमन्त्री भएका बेला देशको गरिबी १७ प्रतिशतमा झारेको दाबी गर्दै ओलीले अहिले २० प्रतिशतभन्दा माथि पुगेको तथ्य प्रस्तुत गरे । उनले आगामी आर्थिक वर्षको बजेटसमेत सन्तुलित नभएको आरोप लगाए । एमालेले चलाइरहेका मन्त्रालयको स्थिति, ती मन्त्रालयले पाएको बजेटका विषयमा समीक्षा गर्न आवश्यक रहेकाले बताए ।
एमाले अध्यक्ष ओलीले पूर्वाधारको सही सदुपयोग गर्न नसकिए त्यसले गरिबी बढाउने दाबीसमेत गरे।