
आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत बंगलादेश र नेपालबीच आज भएको खेलमा नेपाल २१ रनले पराजित भएको छ । यससँगै बंगलादेश समूह ‘बी’ बाट सुपर ८ मा पुगेको छ ।
आजको खेलमा नेपालले बंगलादेश १ सय ६ रनमा अल आउट गराएको थियो । १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै टेस्ट टोली बंगलादेशले नेपाललाई १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो । तर बलिङ शानदार गरे पनि नेपालको ब्याटिङ कमजोर नै रह्यो । फलस्वरुप नेपालले ८५ रन भन्दा बढाउन सकेन ।
अर्नोस भेल मैदान, किंग्सटाउन, सेन्ट भिन्सेन्टमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । बंगलादेशले निर्धारित २० ओभरमा ३ बल बाँकी रहँदै सबै विकेट गुमाएर १ सय ६ रन मात्र बनाउन सक्यो ।
नेपालका सोमपाल कामीले इनिङको पहिलो बलमै बंगलादेशी ओपनर तान्जित हसनलाई बाहिर पठाए । कप्तान नजमुल हुसेन शान्तो ४ रनमा दीपेन्द्रसिंह ऐरीका बलमा बोल्ड भए । १० रन बनाएका लिट्टन दासलाई सोमपालले पेबलियन फर्काए । तौहिद हि्रदोय ९ रनमा कप्तान रोहित पौडेलको सिकार भएपछि पावरप्लेमा बंगलादेश ३१ रनमा ४ विकेट गुमाएको दयनीय अवस्थामा पुग्यो ।
अनुभवी खेलाडी महमुदुल्लाह र शाकिब अल हसनको प्रदर्शन पनि निराशाजनक रह्यो । महमुदुल्लाहल ९ र शकिबले सर्वाधिक १७ रन बनाए । तन्जिम हसन साकिब सन्दीप लामिछानेको बलमा बोल्ड भए । जाकर अलीलाई बोल्ड गर्दै सन्दीपले ५४ इनिङमा १ सय टी-२० आई विकेट पूरा गरे । टी-२० क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट लिने बलरको सूचिमा सन्दीप दोस्रो स्थानमा छन् ।
अफगानिस्तानका राशिद खानले यो उपलब्धि ५३ खेलमा पूरा गरेका छन् । रिशाद हुसेन १३ र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए । तस्किन अहमद १२ रनमा अविजित रहे । यससँगै सन्दीप लामिछाने नेपालको लागि टी–ट्वेन्टी आईमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
नेपालका लागि सोमपाल, दीपेन्द्र, रोहित र सन्दीपले २-२ विकेट बाँडे । नेपालले आज करण केसीलाई आराम दिँदै सन्दीप जोरालाई अवसर दिएको थियो । दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको नेपालको टेस्ट टोलीलाई पराजित गर्ने लक्ष्य पनि सकिएको छ ।
