८ बैशाख २०८२, सोमबार

युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो

kylian mbappe 1

यूएफा युरो कप २०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ । फ्रान्सले अस्ट्रियालाई १-० ले पराजित गरेको हो ।

कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा उपाधि दाबेदारमध्येको एक फ्रान्सले उपहार गोलमार्फत विजयी सुरुवात गरेको हो । अस्ट्रियाका म्याक्सिमिलेन वेबरले ३८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

९० औँ मिनेटमा नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो ।

उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । उनी अस्ट्रियाका डिफेन्डर केभिन डान्सोसँग ठोक्किन पुगेका थिए । यस जितसँगै फ्रान्स समूह डीको दोस्रो स्थानमा छ । उसले १ खेलमा ३ अंक जोडेको छ । अस्ट्रिया समूहको पुछारमा छ ।

समूह ई मा रोमानियाले युक्रेनलाई ३-० ले पराजित गर्दा यसै समूहको अर्को खेलमा उपाधि दाबेदार मानिएको बेल्जियम स्लोभाकियासँग १-० ले स्तब्ध भयो ।

बेल्जियम स्लोभाकियासँग स्तब्ध

बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ ।

समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।